Sunday, November 13, 2011

लघु कथा



परिवार

- डा. कपिलदेव लामिछाने

पहिले:- 
सगोलको ठुलो परिवार थियो । सुविधा कम र असुविधा बढी थिए । पढालेखा र समझदार भएकाले एकदिन उसले प्रस्ट शब्दमा आफू छुट्टै बस्न चाहेको कुरा राख्यो । धेरैले जिब्रो टोके ।


– ओह, तैँले छुट्टिने कुरा गरिस् !?


– तँ छुट्टिने ? रामराम कस्ता जमाना आए ! 


– धत् पाजी, बाआमा, दाजुभाउजू सबैका मुखेन्जी यस्तो कुरा गर्दा लाज लागेन तँलाई ?


– कत्ति छटाको हँ ? 


अहिले:-
एकदिन पुराना साथीहरू भेट भए । कुरैकुरैमा ऊ सगोलमै भएको कुरा भयो । साथीहरू छक्क परे । उनीहरूले प्रश्नका झटारा हाने । भने–


– आबुई तँ सगोलमै छस् ?


– त्यत्रो ठुलो परिवारमा कसरी तेरो प्रगति हुन्छ ?


– कसरी तेरो प्राइवेसी रहन्छ ?


– तँ कसरी बाँचेको छस् ?


– खै मैले त पत्याइन बा । ढाँटेको होलास् ।

No comments: